What's New

CLASS 12 SOCIAL STUDIES| UNIT 1| IMPORTANT QUESTIONS AND THEIR SOLUTION FOR NEB EXAM|






१.जीवनोपयोगी शिक्षा भनेको के हो ? 
उत्तर:- मानिसको सामाजिक जीवनमा आइपर्ने विभिन्न समस्याको पहिचान र समाधान गरी जीवनयात्रालाई सरल, सहज, सुखमय र सार्थक बनाउन आवश्यक ज्ञान र सिपलाई नै जीवनोपयोगी शिक्षा भनिन्छ । 

 २.स्वस्थ जीवनशैली भनेको के हो ? 
उत्तर:-विभिन्न शारीरिक तथा मानसिक दुर्बलताबाट मुक्त भई समाजमैत्री जीवनयापन गर्ने प्रक्रियालाई स्वस्थ जीवनशैली भनिन्छ । 

 ३.सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको भिन्नतालाई एक वाक्यमा लेख्नुहोस ।
 उत्तर. सामाजिक अध्ययन विशेष गरी मानव जीवन र समाजको विविध पक्षसँग सम्बन्धित रहेको हुन्छ भन्ने जीवनोपयोगी शिक्षा केवल व्यक्तिको सार्थक जीवनयापनको पक्षसँग सम्बन्धित हुन्छ ।

 ४.स्वस्थ जीवनशैली निर्माण गर्न जीवनोपयोगी शिक्षाले खेल्ने कुनै दुई भूमिका लेख्नुहोस्।
 उत्तर.स्वस्थय जीवनशैली, निर्माण गर्न जीवनोपयोगी शिक्षाले निम्न भूमिका निर्वाह गर्न सक्छ :
 क. स्वस्थ खानपान तथा पोषण सम्बन्धी ज्ञान हासिल गरी स्वस्थ्य जीवनशैली विकास गर्न सकिन्छ । ख.जीवनोपयोगी शिक्षाले आर्थिक मितव्ययिताको शिक्षा मार्फत जीवनलाई उचित आर्थिक व्यवस्थापन गरी स्वस्थ जीवनको लागि मार्गदर्शन गर्छ। 

 ५. पूर्वीय चिन्तन परम्पराको परिभाषा उल्लेख गर्नुहोस। 
उत्तर:-मानव जीवनमा चरित्रलाई निकै महत्व दिने धर्म, संस्कार, संस्कृतिक सभ्यता, कला, वेद, प्रकृतिमा आधारित चिन्तन परम्परालाई पूर्वीय चिन्तन भनिन्छ । हिन्दु र बौद्ध दर्शन पुर्वीया दर्शनका उदाहरण हुन। 

 ६.पाश्चात्य चिन्तनको विकासमा अरस्तुको भूमिका के थियो ? 
उत्तर:-अरस्तुले भौतिक जगत् र मानव समाजको अध्ययन गरेर प्रतिवादन गरेको विचार पाश्चात्य चिन्तन अन्तर्गत पर्दछ । उनले पाश्चात्य तर्कशास्त्र, नितिशास्त्र, राजनीतिशास्त्र, दर्शन र प्रकृति विज्ञानका अनेकौ शाखाहरूमा पनि निर्णायक योगदान पुर्याएका छन् । 

 ७. सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको अन्तरसम्बन्ध उल्लेख गर्नुहोस् । 
उत्तर:-दुवै सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाले विद्यार्थीमा अनुशासित, चरित्रवान एवम् कर्मनिष्ठ व्यक्तित्वका साथै अन्तरवैद्यक्तिक सीपको विकास गर्ने उदेश्य राख्दछन् । सामाजिक अध्ययनको व्यवहारिक पक्षबाट जीवनोपयोगी प्रोप्त गर्न सकिने भएकाले यी दुईबिच अन्तरसम्बन्ध छ । 

 ८.पाश्चात्य परम्परा अनुसार विश्वमा भइरहेका कुनै दुई अभ्यासहरू लेख्नुहोस्। 
उत्तर:-पाश्चात्य परम्परा अनुसार विश्वमा भइरहेका अभ्यासहरू विश्व छन् : 
क)औद्योगिकिकरण र विश्वव्यापिकरण 
ख) विज्ञान र प्रविधिको उच्चतम् विकास

 ९. पूर्वीय दर्शनको अनुसरणबाट कस्ता जीवनोपयोगी सिपहरु सिक्न सकिन्छ?
 उत्तर.पूर्वीय दर्शनको अनुसरणबाट दैनिक जीवनमा आवश्यक पर्ने सकारात्मक र सिर्जनात्मक सोचाइ सिप, योग ध्यानको माध्यमबाट संवेग व्यवस्थापन सिप, स्वस्थ आहार र आचारविचार ग्रहण गर्ने सिप, आध्यात्मिक र नैतिक सिपाहरू सिक्न सकिन्छ। 


 १०.तपाईले आफ्नो जीवनशैली स्वस्थ्य बनाउन विभिन्न चिन्तन परम्परा कसरी लागु गर्न सक्नुहुन्छ ? 
उत्तर:-.आफ्नो जीवनशैली स्वस्थ बनाउन मैले पूर्वीय चिन्तन परम्परा अनुसार स्वस्थ खानपिन, धर्मकर्म, शारीरिक र मानसिक शुद्धता, असल सङ्गत, समुदायमा सामूहिकता र सहकार्य जस्ता आचरणको विकास र पालना गरेको छु।


 १. सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको अध्ययन गरे पश्चात आफ्नो स्वस्थ्य जीवनशैली कसरी निर्माण गर्नुभएको छ ? उदाहरण प्रस्तुत गर्नुहोस् । 

उत्तर:- सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा दुवैले व्यक्तिलाई राष्ट्रले गर्व गर्न लायक नागरिक तयार पार्ने समान लक्ष्य राखेको हुन्छन। सोही उद्देश्यलाई ध्यानमा राखेर सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गरिएको छ । सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको अध्ययन गरे पश्चात स्वस्थ जीवशैली निर्माण गर्न मलाई धेरै सहयोग पुगेको छ ।
              सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको मार्फत समाजमैत्री व्यवहारको विकास भएको छ । मनो -वैज्ञानिक तथा सामाजिक समस्याको समाधान गर्ने क्षमताको विकास भएकाले शारीरिक हिसाबले स्वस्थ बनाउन सहयोग गरेको छ । सामाजिको अध्ययनको व्यवहारिक प्रयोगबाट मैले आफूमा सही संस्कार, मूल्यमान्यता एवम सकारात्मक स्वास्थ्य सम्बन्धित आचरणहरुको विकास गरी सक्रिय, चरित्रवान् एवम स्वस्थ नागरिक बन्ने गुणहरूको विकास गरेको छु। सामाजिकिकरणको प्रक्रियालाई अझ बढी प्रभावकारी बनाउन विभिन्न अन्तरवैयक्तिक सिपहरुको विकास गरेको छु जसले गर्दा विभिन्न सामाजिक गतिविधिहरूमा म मक्रिय रूपले सहभागी हुने गर्दछु । उदाहरणका लागि गाउँमा सामुदायिक विद्यालयको अवस्थालाई सुधार्न सकिने विषयमा आफ्ना तर्क, योजना र उपायलाई सम्बन्धित निकाय समक्ष प्रस्तुत गर्न म सक्षम भएको छु। यसरी मेरो सामाजिक जीवनशैली स्वस्थ बन्न पुगेको छ । त्यसैगरी कुलतको पहिचान गरी यसका नकारात्मक असरहरूको विश्लेषण साथै यसको समाधानको आयहरू अवलम्बन गर्ने बानीको विकास गरेको छु । स्वस्थ खानपान तथा पोषणसम्बन्धी हासिल गरेको ज्ञानले पनि स्वस्थ जीवनशैली निर्माण धेरै मददत पुर्याएको हो । सामाजिक परिवेश, परम्परा, मूल्यमान्यत, नियम र संस्कृतिको ज्ञान सामाजिक अध्ययन विषयबाट प्राप्त भएकाले पनि मेरे सामाजिक जीवन सरल, सफल र सहज बनेको हो । जीवनोपयोगी शिक्षाले आर्थिक मितव्ययिताको शिक्षा मार्फत जीवनलाई उचित आर्थिक व्यवस्थापन गरी स्वस्थ जीवनको लागि मार्गदर्शन गरेको छ । भविष्यमा आवश्यक पर्ने विभिन्न सीप, दक्षता र ज्ञान जीवनोपयोगी शिक्षाको माध्यमबाट प्राप्त भएकाले अन्योलताको अवस्था हटेर लक्ष्य निर्धारण पनि सहजै ढङ्‌गले भएको छ। संवेग व्यवस्थापन, समस्या समाधान सिप, आत्मसम्मान जस्ता जीवनोपयोगी सिपहरूको विकासले पनि स्वस्थ जीवनशैली निर्माणमा विशिष्ट भूमिका निर्वाह गरेको हो ।
              यसर्थ सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाले ज्ञान, मनोवृत्ति, मूल्य मान्यता जस्ता मनोसामाजिक गुणहरूको सकारात्मक पक्षमा जोड दिएकाले मेरो व्यवहार सुदृढीकरण तथा परिवर्तन भई स्वास्थ्य समस्याको रोकथाम एवम् स्वस्थ व्यवहार विकास भएकाले स्वस्थ जीवनशैली निर्माण भएको छ ।

 २.वर्तमान समयमा नेपालको सन्दर्भमा पूर्वीय र पाश्चात्य चिन्तन परम्परा अनुसार भइरहेका कार्यहरु उल्लेख गर्दै तिनको समन्वयका उपायहरू उल्लेख गर्नुहोस् । 

उत्तर:- वैदिक र धार्मिक चिन्तनमा आधारित परम्परालाई पूर्वीय चिन्तन भनिन्छ भने वैज्ञानिक चिन्तन,वैचारिक स्वतन्त्रता एवम् भौतिक विज्ञान र प्रविधिमा आधारित चिन्तनलाई पाश्चात्य चिन्तन भनिन्छ। वर्तमान समयमा नेपालमा दुवै पूर्वीय र पाश्चात्य परम्परा अनुसार विभिन्न कार्यहरू हुँदै गरेको पाइन्छ ।
                नेपाल परापूर्वकालदेखि नै एक धार्मिक तपोभूमिको रूपमा स्थापित भएकाले नेपाली समाजमा संस्कार र संस्कृतिको बढी प्रभाव रहेको पाइन्छ । आजपनि पूर्वीय परम्परा अनुसार पूजापाठ, धर्मकर्म, सामाजिक सहकार्य र आत्मज्ञानका लागि ईश्वरीय शक्तिको उपासना गर्ने जस्ता कार्यहरु नेपाली समाजमा जीवन्त छन् । स्वालम्बी बन्ने, परोपकार गर्ने,सबै प्राणीलाई दया गर्ने, उपयुक्त आहारको मात्र खानपिन गर्ने र अचारविचार असल बनाउने जस्ता वैदिक दर्शनका उपदेशहरू अभ्यास भइरहेको पाइन्छ। हिन्दु र बौद्ध धर्म एवम् दर्शनलाई प्राथमिकता दिएर सोही अनुसार नै चाडपर्व मनाउने, योग ध्यान गर्ने, सत्यको अवलम्बन गर्ने र बौद्ध परम्परा अनुरूप आर्य अष्टाङ्‌गिक मार्ग र पञ्चशीलमा आधारित भएर विभिन्न क्रियाकलापहरु गरिन्छन् । आयुर्वेद, योग, विपश्यना, शाकाहारी जीवनशैलीप्रति जनचासो हालसालेका वर्षहरूमा बढ्‌दो क्रममा देखिन्छन् । अर्कोतिर वैश्विकरणले गर्दा नेपाली परिवेशमा पनि पाश्चात्य परम्पराको प्रभावहरू देखा परिरहेका छन्। प्राकृतिक संसाधनको विनाशकारी दोहन तथा उपभोगवादको विकृति देखा परेका छन्। विज्ञान र प्रविधिको विकास, उद्योगको स्थापना, खुला बजार अर्थतन्त्रको स्थापना, उदारवादी लोकतान्त्रिक व्यवस्था र पुजीवादी विचारधाराको प्रवृत्ति बढ्‌दो छ । यसका साथै वर्तमान नेपालमा पाश्चात्य परम्परा अनुसार मानवअधिकार, पर्यावरणमैत्री दृष्टिकोण, गरिवी निवारण, आधुनिक शिक्षा र स्वास्थ्यका पूर्वाधारको विकास र बहुसांस्कृतिकतालाई सम्मानजस्ता सकारात्मक कार्यहरू अभ्यास भइरहेका छन् ।
         वर्तमान समयमा प्राच्य र पाश्चात्य चिन्तन परम्पराहरूको भेट, आपसी संवाद र प्रतिस्पर्धा वा समन्वयको अवस्था वर्तमान समयमा देखिन्छ।विविधतालाई सामञ्जस्य गर्ने दृष्टिकोण, पर्यावरणमैत्री आचार विचार आध्यामिकता जस्ता कुराहरू पूर्वीय चिन्तन परम्पराबाट पश्चिमा समाजले लिने र प्रविधिको विकास, उद्यमशीलता, परिणाममुखी कार्यपद्धति जस्ता कुराहरू परिचमा समाजबाट पूर्वीय समाजले लिन सक्छ। यसरी दुवै चिन्तन परम्परा बिच सन्तुलन र आपसी सहकार्य स्थापना गर्न सकिन्छ । यसर्थ प्राप्य र पाश्चात्य चिन्तन परम्पराको समन्वय गरी वैश्विक सामन्जस्य, सहकार्य एवम् शान्ति प्रवर्धन गर्न सकिन्छ । 

 लामो उत्तर: 
. "पूर्वीय र पाश्चात्य चिन्तन परम्पर|का सकारात्मक एवम् व्यवहारिक आयामहरूको समन्वयात्मक दृष्टिकोणलाई अनुसरण गर्दा मानव कल्याण समाज, विकास र विश्व शान्ति सहjai प्राप्त गर्न सकिन्छ । " यस भनाइलाई आफ्नो तर्फसहित स्पष्ट पार्नुहोस् ।

 उत्तर:-वर्तमान विश्वमा पूर्वाय र पाश्चात्य चिन्तन, परम्परा अनुसार विभिन्न क्षेत्रहरूमा कार्यहरू भइरहेका छन् । धर्म, संस्कार, संस्कृति, कला र साहित्य संग जोडिएको पूर्वीय चिन्तन परम्परामा मानवको चरित्र र सामूहिकतालाई महत्त्व दिएको हुन्छ भने पाश्चात्य चिन्तन परम्परामा वैज्ञानिक खोज, आधुनिक प्रविधि, आलोचनात्मक चेतसहितको ज्ञान र तर्कशास्त्रलाई विशेष प्राथमिकता दिएको हुन्छ । यी दुवै बेग्लाबेग्लै चिन्तन परम्पराको सकारात्मक र व्यवहारिक पक्षको समन्वयात्मक दृष्टिकोणलाई अनुसरण गर्दा दुवै हातमा लड्‌डु प्राप्त भए झैं असीम फाइदा मानव समाजले लिन सक्छ । धर्मकर्मले डोराएको प्राच्य जीवनशैलीदेखि नीतिशास्त्र र तर्कशास्त्रको बेजोड प्रभाव रहेको पाश्चात्य जीवनशैलीमा चौतर्फी समुन्नति सहजै हासिल गर्न सकिन्छ ।
               परिवार, कुल, समुदाय र समाजलाई महत्व दिनु पूर्वीय मान्यताको साझा विशेषता हो । मानिसले ऑफूलाई दुःखबाट मुक्ति दिलाउन संसारिक मोह, गलत इच्छा, र अज्ञानताबाट टाढा रहनु पर्दछ भन्ने मान्यता पूर्वीय दर्शनले राख्दछ। पूर्वीय चिन्तन बढी व्यवहारिक हुन्छ र यसले समूह, समाज वा व्यक्तिहरूको सोच र कार्यमा जीवनको अर्थ खोज्दछ । यसरी पूर्वीय चिन्तनका मान्यताहरू मानिसको दैनिक जीवनमा धेरै उपयोगी हुन्छन । जगत र जीवन, चेतना र पदार्थको बारेमा ज्ञान हासिल गर्न र अन्तरज्ञानबाट वास्तविकता पत्ता लगाउन पूर्वाय चिन्तन व्यवहारिक ठहरिन्छ । अर्कोतिर्फ विज्ञानवाद, फलवाद, तार्कीय प्रत्यक्षवाद, विश्लेषणवाद र वस्तुवादी चिन्तनले पाश्चात्य जीवनशैली अझै उदात्ततिर प्रेरित गरिरहेको पाइन्छ । ज्ञानलाई व्यवहारिक उपयोगिता र व्यक्तित्व विकासका लागि प्रयोजित गर्नुपर्छ भन्ने अवधारणा पाश्चात्य चिन्तनबाट विकसित भएको छ । पाश्चात्य चिन्तन बढी सैद्धान्तिक हुने भएकाले तर्क एवम् ठोस प्रमाणबाट मात्र वास्तविकता पत्ता हुन्छ भन्ने मान्यता रहेको छ । यसरी पूर्वीय र पाश्चात्य चिन्तन परम्पराले फरक फरक विचारधार र अन्य व्यवहारिक पक्षहरुलाई सम्बोधन गरेको पाइन्छ । यी दुई मान्यता धेरै हदसम्म एकअर्काको विपरीत सरह नै छन्। तापनि दुवैमा यथेष्ट सकारात्मक कुराहरू रहेको पाइन्छ । तसर्थ पूर्वीय र पाश्चात्य चिन्तन परम्पराका सकारात्मक एवम् व्यवहारिक आयामहरूको समन्वयात्मक दृष्टिकोणलाई अनुसरण गर्दा मानव कल्याण, समाज विकास र विश्व शान्ति सहजै प्राप्त गर्न सक्छौ । उदाहरणका लागि पूर्वीय चिन्तनबाट हामीले आफ्नो असल र नैतिक चरित्र निर्माण गर्ने र सामाजिक सहकार्य वृद्धि गर्ने प्रवृत्ति अवलम्बन गर्न सक्छौ भने पाश्चात्य परम्पराबाट तार्किक क्षमता र समालोचनात्मक चिन्तनको विकास र भौतिक समाजको अध्ययनलाई अगाडि बढाउन सकिन्छ । परिणामस्वरूप यस्ता सकारात्मक पक्षको माध्यमबाट मानवको चरित्र शुद्ध हुन्छ र उसको कार्यक्षमतामा पनि अभिवृद्धि हुन्छ जसले गर्दा मानवको कल्याण त स्वतः नै हुन्छ, सामाजिक प्रगतिका पनि थुप्रै सम्भावनाहरू सिर्जना हुन्छन् । त्यसैगरी पूर्वीय र पाश्चात्य दुवै चिन्तकहरू विश्व भरिका मानवजाति समान छन् र उनीहरूबीचमा फरक केबल उनीहरूले गर्ने, व्याख्या तथा परम्परामा छ भन्ने विश्वास राख्दछन् अर्थात मानवतावाद, मानवअधिकार र विश्व शान्तिका पक्षपाती छन् । प्राच्य सभ्यताबाट प्राप्त गर्न सकिने योग, ध्यान, मन्त्रजप, आयुर्वेद शास्त्रीय सङ्गीतले व्यक्तिको अन्तरमनलाई पवित्र बनाउनुका साथै समाजिक उन्नति र विश्वको शान्तिको पहल गर्न प्रेरणा प्रदान गर्छ । पश्चिमी चिन्तनले समानतालाई जोड दिन्छ , र सार्थक जीवन निर्माण गर्न आफ्नो लक्ष्यप्रति समर्पित हुने विश्वास राख्दछ । यस्तो किसिमको धाराणा सबै मानव समुदायमा विकसित र कार्यन्वयन भएको खण्डमा शान्ति र समृद्धि सरलताका साथ प्राप्त गर्न सकिने विषय हुन् ।
                  विविधतालाई सामञ्जस्य गर्ने दृष्टिकोण, पर्यावरणमैत्री आचार विचार आध्यामिकता जस्ता कुराहरू पूर्वीय चिन्तन परम्पराबाट ग्रहण गर्न सकिन्छ भने प्रविधिको विकास, उद्यमशीलता, परिणाममुखी कार्यपद्धति जस्ता कुराहरू पश्चिमा समाजबाट लिन सकिन्छ। अतः पूर्वीय र पाश्चात्य चिन्तन परम्परा सेवद्धान्तिक र विषयवस्तुगत तवरले फरक भए तापनि ती परम्परामा गाबिएका सकारात्मक पक्षलाई समन्वयात्मक तरिकाले प्रयोग गर्न सकियो भने सारा मानव जगतको कल्याण अवस्य पनि हुनेछ।

 COPYRIGHT:- BEING SOCIAL YOUTUBE CHANNEL.

Post a Comment

2 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
  1. Unit 2 ko xoina tw

    ReplyDelete
  2. Long questions and is long as f ! It is too long

    ReplyDelete